नियम १४
खानतलासी लिने कार्यविधि
(१) निरीक्षकले ऐनको दफा १५ को उपदफा (१) को खण्ड (ग) बमोजिम कुनै परीक्षण क्षेत्र, भण्डारण स्थल परेमा खानतलासी लिइने ठाउँका धनी वा सम्बन्धित व्यक्तिलाई खानतलासी लिन लागेको विषयमा सूचना दिई कम्तीमा दुई जना स्थानीय व्यक्तिहरुको रोहवरमा खानतलासी लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खानतलासी लिने कार्यमा निरीक्षकलाई सहयोग गर्नु सम्बन्धित सवैको कर्तव्य हुनेछ । यसरी खानतलासी लिंदा कसैले वाधा विरोध गरेमा निरीक्षकले निजलाई सम्झाई बुझाई उक्त स्थानमा प्रवेश गरी खानतलासी लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सम्झाई बुझाई गर्दा पनि बाधा विरोध गरेमा त्यस्तो वाधा विरोध गर्ने व्यक्तिलाई निरीक्षकले त्यस प्रकारको कार्यबाट पर्न सक्ने असर समेत उल्लेख गरी बाधा विरोध नगर्नका लागि आदेश दिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम आदेश दिंदा पनि बाधा विरोध जारी राखेमा त्यस्तो ब्यक्तिलाई कार्यालय प्रमुखले ऐनको दफा २३ को खण्ड (घ) बमोजिम जरिवाना गर्न
सक्नेछ ।
(५) निरीक्षकले यस नियम बमोजिम खानतलासी लिंदा खानतलासी लिइएको ठाउँमा बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेण्ट, लाभदायक कीरा वा अन्य वस्तु भएको पाईएमा त्यस्ता वस्तुको सम्पूर्ण विवरण खुलाई मुचुल्का तयार गरी सो स्थानको धनी वा सम्बन्धित व्यक्ति तथा उपस्थित अन्य व्यक्तिहरुको समेत सही छाप गराई एक प्रति सम्बन्धित व्यक्तिलाई दिई एक प्रति आपूmसँग फाइल संलग्न गरी राख्नु पर्नेछ ।
(६) निरीक्षकले उपनियम (५) बमोजिम फेला परेका वस्तुहरुको आवश्यक मात्रामा नमूना लिई सिलबन्दी गरी सो वस्तुको धनी वा सम्बन्धित व्यक्ति, रोहवरमा रहेका व्यक्ति र निरीक्षकले सही छाप गराई नमूनाको स्वस्थता परीक्षण गर्न नियम ११ को उपनियम (३) बमोजिम प्रयोगशालामा पठाउनु पर्नेछ । त्यसरी नमूना लिएपछि बाँकी रहेका वस्तुहरु अवस्था अनुसार कब्जामा लिने वा सोही ठाउँमा शिलबन्दी गरी राख्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम परीक्षण गर्न पठाईएको वस्तुको प्रयोगशाला परीक्षणबाट त्यस्तो वस्तु अस्वस्थ रहेको पाईएमा सो वस्तुको सम्बन्धमा नियम ११ को उपनियम (६) बमोजिम उपचार गर्ने, नष्ट गर्ने वा त्यस्तो वस्तु सम्बन्धित देशमा फिर्ता पठाउने आदेश दिनु पर्नेछ ।
(८) यस नियम बमोजिम कुनै ठाउँको खानतलासी लिंदा कुनै वस्तु फेला नपरेमा वा असम्बन्धित वस्तु फेला परेमा सोही व्यहोरा मुचुल्कामा उल्लेख गरी फाइल संलग्न गर्नु पर्नेछ ।
(९) निरीक्षकले खानतलासी गर्दा उपनियम (६) बमोजिम कुनै वस्तु आफ्नो कब्जामा लिनु पर्ने भएमा कब्जामा लिन लागिएको वस्तु, मात्रा, संख्या, अवस्था समेतको व्यहोरा उल्लेख गरी भरपाई तयार गरी त्यस्तो वस्तुको धनी वा सम्बन्धित व्यक्तिलाई एकप्रति भरपाई दिई अर्कोप्रति फाईल संलग्न गर्नु पर्नेछ ।